पृथ्वीराज चौहान
लक्ष्मीप्रसाद देवकोटा
प्रस्तुत पृथ्वीराज चौहान महाकाव्य महाकवि लक्ष्मीप्रसाद देवकोटाको सार्वजनिक कवितायात्राको पूर्वार्द्ध (१९९१–२००३) को अन्त्यतिरको र उनको खास दुईवर्षे महाकाव्ययात्राका खास पाँच नेपाली महाकाव्यमध्ये लगभग बीचको त्यस्तो महाकाव्य देखा पर्छ, जसमा उनको महाकाव्यात्मक प्रतिभाको प्रवाहज्वार वन-कुसुममा झैँ केही श्रान्त-क्लान्त र सेलाउन लागेको स्थिति छैन र महाराणा प्रतापमा झैँ आत्मसंयमी र परिष्कार-सचेत कविकौशल नै विराट् प्रतिभा ज्वारभन्दा बढी चहकिएको अवस्था पनि छैन । त्यस्तै यस पृथ्वीराज चौहानमा शाकुन्तल र सुलोचनाको जस्तो द्रुत प्रतिभाज्वार अथवा शाकुन्तलको जस्तो गाङ्गेय प्रचुर प्रतिभा-अन्तरप्रवाह र विराट् कल्पना- उडानको उच्चतर छाप पनि प्रचुर मात्रामा देखिँदैन । तर यस (पृथ्वीराज चौहान) महाकाव्यका प्रथम र अन्य निकै (पाँचौँ/आठौँ चौधौँ अनि प्रकाशनक्रममा कायम पन्ध्रौँ/सोह्रौँ/अठारौँ/उन्नाइसौँ/बीसौँ जस्ता) सर्गमा देवकोटेली उत्कृष्ट प्रतिभा र कविताकलाको मोहक जादू उचालिन पुगेको छ । यस महाकाव्यमा उनको पूर्वार्द्ध र उत्तरार्द्ध कवितायात्राको दोसाँधतिरको रुमानी अतीतमुखी तर युगव्यञ्जक देशभक्ति र स्वातन्त्र्य चेतका साथै आत्मबलिदानी सांस्कृतिक-राजनैतिक पुनर्जागरण चेत तीव्र रूपमा सुसाएको छ र लोकगाथा परम्पराको पुनरुन्मेषमा वीरगाथा/धर्मगाथा/प्रेमगाथाको अन्तर्त्रिवेणीसमेत प्रवाहित भएको भेटिन्छ । त्यस्तै यहाँ राष्ट्रिय एकता र स्वातन्त्र्य एवं देशभक्तिका स्वच्छवन्दतावादी-रुमानी नवस्वरका निम्ति भारतीय मध्यकालीन इतिहासको हिन्दू फुट र एकताको कमी एवं मुस्लिमका-विजय राजनीतिक-धार्मिक आधार कथाले महाकविलाई निकै उत्प्रेरित गरेको छ र पृथ्वीराज चौहान, शक्तिशाली वीर/प्रेमी नायक हुन आएका महाकाव्योचित छन् । महाकविका चेतनामा टुसाइरहेको युग-सङ्क्रमणकालीन तीव्र व्यङ्ग्यबोधचाहिँ राजा जयचन्दका बिरालीबुद्धिका चित्रणका क्रममा यस महाकाव्यमा (प्रकाशनका सिलासिलामा) कायम सत्रौँ सर्गका अनुच्छेद/श्लोक ११-१५ पराकाष्ठामा पुगेको छ । यो पृथ्वीराज चौहान महाकाव्य उनले नेपाली लोकलय (झ्याउरे) र नेवारी लोकगाथाका मौलिक एवं प्रतिभापूर्ण उच्च कलात्मक प्रयोगस्वरूप आफ्नो प्रथम नेपाली खण्डकाव्य मुनामदन (१९९२ र छापेको एक दशकपछि कम्तीमा दुई महाकाव्य वर्णमात्रिक छन्दमा लेखी छपाइसकेपछि, नेपाली लोक गाइनेका चाँचरी र कर्खाका मुहुनीदार छन्द-ढाँचा र महागाथा-संरचनालाई महाकाव्यस्तरमा पुनरुज्जीवन प्रदान गर्दै रचेका छन् । यसमा ५ (३+२) × ५ (३+२) × ६ (३+३) अक्षरगुच्छका झ्याउरे छन्दका मूल ढाँचालाई अँगाली बीचबीचमा ५+५ वा ६ का अनेक खण्डचरणलाई प्रचुर मात्रामा प्रयोग गरी अन्त्यानुप्रास र कतिपय मध्यान्तानुप्राससमेतका मोहक सङ्गीत-जादूका साथ उनले प्रवाहमय सङ्गीति प्रदान गरेका छन् । – डा. वासुदेव त्रिपाठी
- Author
- लक्ष्मीप्रसाद देवकोटा
- Language
- Nepali
- Publisher
- साझा प्रकाशन
- Edition
- दोस्रो, २०६३ · ISBN 99933-2-510-4
- Source
- Sahityaras.com
- Licence
- Used with permission of Sahityaras.com
Subjects
Reader comments
Be the first to comment.
