नेपाली मेघदूत
लक्ष्मीप्रसाद देवकोटा
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘नेपाली मेघदूत’ महाकवि कालिदासको प्रसिद्ध कृति ‘मेघदूतम्’बाट प्रेरणा लिई रचना गरिएको उत्कृष्ट खण्डकाव्य हो। दूतकाव्यको परम्परालाई पछ्याए पनि यसको प्रस्तुति, विषयवस्तु र भावभूमिमा देवकोटाको मौलिक प्रतिभा स्पष्ट देखिन्छ। वि.सं. २००४ देखि २००६ साल बनारस प्रवासमा रहेका बेला देवकोटाले यो काव्यको सिर्जना गरेका हुन्। काव्यमा बनारसमा रहेका एक विरही नायकले आकाशमार्गबाट उत्तर–पूर्वतर्फ गइरहेको मेघलाई दूतका रूपमा प्रयोग गरी कान्तिपुरमा रहेकी आफ्नी प्रेमिका ‘नानी मैजु’ समक्ष प्रेम र विरहले भरिएको सन्देश पठाएको कथा प्रस्तुत गरिएको छ। ‘नेपाली मेघदूत’को उल्लेखनीय विशेषता भनेको बनारसदेखि काठमाडौंसम्मको रेल तथा पैदल यात्राका क्रममा पार गरिने विभिन्न भू-भागहरूको जीवन्त चित्रण हो। मेघले तय गर्ने मार्गमा भेटिने प्राकृतिक दृश्य, भौगोलिक अवस्था, ऐतिहासिक स्थल, सांस्कृतिक परम्परा र सामाजिक जीवनलाई कविले अत्यन्त सूक्ष्म र प्रभावशाली ढङ्गले प्रस्तुत गरेका छन्। विशेषतः प्रकृतिको सौन्दर्य तथा हास्य-व्यङ्ग्यपूर्ण प्रसङ्गहरूमा देवकोटाको सिर्जनात्मक कौशल अझ बढी प्रकट भएको पाइन्छ। बनारस प्रवासका क्रममा अनुभूत तत्कालीन मानसिक अवस्था र परिवेशलाई आधार बनाउँदै देवकोटाले यस काव्यमार्फत निरंकुश एकतन्त्रीय राणा शासनका विकृति र विसङ्गतिमाथि तीक्ष्ण व्यङ्ग्यसमेत गरेका छन्।
- Author
- लक्ष्मीप्रसाद देवकोटा
- Language
- Nepali
- Publisher
- नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान (मैना)
- Edition
- पहिलो, २०३९
- Source
- Sahityaras.com
- Licence
- Used with permission of Sahityaras.com
Subjects
Reader comments
Be the first to comment.
